बाबा
बाबा
बा, आमाका सुत्केरी व्याथा पोखिदातिम्रा संघर्सका गाथा किन लेखिएनन्
आफू भोकै बसि
हाम्रो पेट भरिएको हेर्ने
भोक मेटाउन नुन संग पानीको घुुट्को लगाई
एकान्तमा रोएकाका व्याथाहरु किन पोखिएनन्
आमाका भावना पोखिदा
बा, तिम्रा भावना किन पोखिदैनन्
बा, आमालाई धर्ती भन्दा
तिमी लाई किन आकास भनेनन्
तिम्रो छत्र छायाँको
किन बखान गरेनन्
तिम्रो काध, तिमीले दिएको भरोसा
अनि तिमीले दिएको आट
किन लेखा जोखामा परेनन् ।
आफुले च्यात्तिएको जुत्ता लगाउदै
हामीलाई नयाँ जुत्ता किनिदिएर पनि
तिमीले च्यात्तिएको धोती सिउदै लगाउदै गर्दा
म तिमीलाई लोभी सोच्थ्ये
बा, यि लोभका कथाहरु किन लेखिएनन्
हाम्रा लागि प्रत्येक दशैंमा
नयाँ लुगा ल्याउथ्यौ
आफू उही पुरानै
पाइन्ट र कमिज
मिलाउदै भन्थ्यौ
अझै दुइचार बर्ष टिक्छ
म तिमीलाई बेरङ्गी ठान्थ्ये
बा, यि बेरङ्गका कथाहरु किन लेखिएनन्
तिमीले आफ्ना रहर, इच्छा र चाहानाको
चिहान बनाएर
हाम्रा रहरहरु मलजल गर्दै हुर्काएका
तिम्रा यि कर्महरु किन पोखिएनन्।
मलाई ठेस लाग्दा, तिमीलाई दुख्छ बा
म बिरामीहुदा, आमा संगै तिमी पनि त छटपटिन्छौ
म टाढा हुदा आमा संगै तिमी पनि त मेरो बाटो हेरिरहन्छौ
तर, बा आमाका भावना पोखिदा तिम्रा किन पोखिएनन् ।
मेरो पिडामा आमा धरधरी रुदा तिमीले किन आँशु खसालेनौ
इज्जत अभिमान र कठोरको भकारी भिराइ दिएको समाजले
तिमीलाई आशु लुकाउन सिकाइदियो, बा
तिम्रा व्यथा, पिडा, इच्छा चाहाना खोल्नै दिएन बा
त्यसैले त तिम्रा कविता लेखिदै लेखिएनन बा,
तिम्रो माया र स्नेह पोख्नै दिएन बा
Comments
Post a Comment