तीज, महिला र पुरुष
तीज, महिला र पुरुष
केशवी जोशी
आधुनिक हुने नाममा एकातिर हामी हाम्रो संस्कार र संस्कृतिको चर्काे विरोध गर्छाैं । त्यसका नकारात्कम पक्षकोमात्र यति वकालत गर्छाै की त्यसका सकारात्मक पक्ष ओझेलमा पारिदिन्छौं ।
हिन्दु नारीहरुको गहना मानिने सिन्दुरलाई दासत्वको प्रतिकको रुपमा परिभाषित गर्न सक्ने एक जना सिनियर दिदीले विभिन्न ठाउँमा दर खाएका फोटो सोसल मीडियामा अपलोड गरिन् । बाक्लो जनसम्पर्क भएका कारण उनका फोटोहरुमा लाईक, सेयर र कमेन्ट गर्नेको जमात अत्यधिक थियो । उनले त्यसरी ति सबैलाई धन्यवाद भन्दै कमेन्ट गरिन् ।
तर, मैले गरेको कमेन्ट नै डिलिट गरेकी रहिछन् । ‘दिदी तपाई तीजको व्रत बस्नु हुन्छ ? दर त तीजको व्रत बस्नेले व्रतको दिन भोको बस्दा दरो होस्, गाह्रोे नहोस् भनेर खाने हैन र ?’ मैले उनको उत्तरको आश गरेको थिएँ तर कमेन्ट नै डिलिट भयो । आमसंचार माध्यमले उनलाई महिला अधिकारवादीको रुपमा स्थापित गरिदिएको छ । उनले एक दिन भनेकी थिईन ‘स्वतन्त्र रुपमा बाँच्ने इच्छा कै कारण मैले पारपाचुके गरेँ । अहिले म लिभिङ टुगेदर (विवाह नगरेका सँगै बस्ने जोडी) मा छु । म स्वतन्त्र छु । म तीजको व्रत बस्दिन । तीज व्रत खोक्रो ढोंग हो ।’ तर, पुरुष विना बाँच्ने आट नि गर्नु भएन दिदी ? आफूबाट पुरुष शब्द नै किन अलग गर्नु भएन । आखिर यौनसन्तुष्टिका लागि भए पनि त तपाई एउटा पुरुषसँग बस्नु भएकै छ । र, सबै नेपाली महिलाहरु परपाचुके गरेर तपाई जस्तै बस्न सक्छन त ? सम्बन्ध विच्छेद पछिको महिलाहरुको अवस्था मैले भन्दा तपाईंले बढी बुझनु भएको छ ।
नेपाली समाजमा धेरै चेलीहरुले आदर्श मान्ने ति दिदी कुनै समय मेरो पनि आदर्श थिईन् । तर, उनको खोक्रो आदर्श बुझेपछि मैले आदर्श मान्ने केहि व्यक्तिहरुको सूचीबाट उनलाई हटाई दिए ।
त्यस्तै, पाकिस्तानका एक जना बरिष्ठ पत्रकार दिदीले भनेको कुरा पनि सम्झन्छु । समाजमा विद्रोह गरेर मात्र अधिकार पाउन सकिन्न । त्यो सँगै शान्ति र सम्झौता पनि चाहिन्छ । परिस्थिति अनुसार बदलिनु पर्छ । समाजमा विद्रोह ल्याउन जति सजिलो छ, त्यसलाई सहि दिशा दिएर शान्त पार्न त्यतिकै कठिन छ । जव सम्म समाजमा शिक्षा र चेतनाको वृद्धिसँगै महिलाहरुमा आर्थिक सवलता हुँदैन तव सम्म महिलाहरुमा विद्रोहको ज्वाला ल्याउन ठीक हुँदैन । त्यसको शिकार उनीहरु आफै हुन्छन् । अहिले हामीले विद्रोह भन्दा पनि महिलाहरुमा शिक्षा, चेतना र आर्थिकरुपमा निर्भर बन्ने आधारहरु खोज्नुपर्छ । त्यति गर्न सक्यौं भने विद्रोह आफै जाग्छ ।
उनले भने जस्तै, पुरुषहरुलाई महिला शिक्षित र सक्षम हुँदा परिवारमा पर्ने असरका बारेमा बताउनुपर्छ । ति बिषयका सकारात्मक कथाहरु सुनाउन पर्ने बेला छ । छोरा र छोरीमा गरिने विभेद महिलाबाट नै बढी हुने गर्छ । विहे हुनुभन्दा अगाडि आमाले छोरी र छोरामा बुवाले भन्दा बढी बिभेद गर्छन् । र, विहे भैसकेपछि सासुले बुहारीलाई जहिले पनि छोरा भन्दा तल कै सम्झन्छन् । त्यस्तो हुनुमा ति आमा वा सासुलाई दोष दिन मिल्दैन । उनीहरु कुरितीका सिकार भए, आफ्नो जीवनमा जे भोगे, देखे र सुने त्यही कुरा छोरी र बुहारीमा लागु गरे ।
हो, अहिले हामी त्यहि कुरिती र कुसंस्कारको विरुद्धमा चेतना जगाउन पर्छ । तर, त्यसको मतलव यो होइन की हामीले हाम्रा संस्कार, संकृति छोड्दै जानुपर्छ ।
मेरी आमाले यस्तै २२ बर्ष अगाडि भारतस्थित पोलगन्जको एक अस्पतालमा बस्दाको अनुभव सुनाउदा म छक्क परे । आमाको उपचार गराउने डाक्टरको श्रिमतीले डाक्टरलाई नामले नै बोलाउने रहिछन् र तिमी सम्वोधन गर्ने रहिछन् । जुन आमालाई नौलो लागे पनि मन परेको रहेछ । आमाले भनेको सम्झन्छु ‘उनीहरु श्रीमान–श्रीमती भन्दा पनि साथी जस्तै थिए, उनीहरु खुलेर कुरा गर्थे, सबै काम मिलेर गर्छन् भन्थे, सायद मैले पनि तिमीहरु जस्तै पढ्न, संसार घुम्न पाएको भए ।’ आमाको कुरा सुने पछि मेरो मनमा एउटा प्रश्न उब्जेको थियो, शिक्षित मेरी आमाले वुवासँग खुलेर कुरा गर्न सक्नु भएन भने समाजका अरु अशिक्षित महिलाहरुले के गर्लान् ? तर, सायद यसैलाई विद्रोह भन्छन् । जुन आफै विकास हुन्छ । आमाले जागिर र पढाईलाई दिने महत्वको बारेमा अहिले थाहा पाउँदै छु । आमाले ठाउँ, समय र परिस्थिति अनुसार बदलिनुपर्छ तर संस्कार छोड्नु हुदैन भने पनि सिन्दुर, पोतेलाई महिलाको गहना मानिने समाजमा कहिले महत्व दिए जस्तो लाग्दैन । यद्यपि उनले सिन्दुर, पोते र चुरा जहिले नि लगाई राख्छिन् ।
अहिलेको कुनैपनि पतिले म जीवित रहेको वा तिमी विवाहित हौ भन्ने प्रतिक भएको सिन्दुर, चुरा, पोते लाउनै पर्छ भनेर बाध्य पार्दैनन् । लगाउने र नलगाउने महिलामा भरपर्छ । तर, सिन्दुर पोते नलाउने हो भने विहेका लागि किन मण्डप चाहियो त ? त्यो भन्दैमा विवाहको सस्ंकार छोडि दिने त ? कि तीजको व्रत बस्न छोड्ने ? अनि दर पार्टी के का लागि ? जब संस्कारको मुल नै पखाल्ने कुरा गरिन्छ भने हाङ्गा र पात के का लागि ?
आधुनिक हुने नाममा एकातिर हामी हाम्रो संस्कार र संस्कृतिको चर्काे विरोध गर्छाैं । त्यसका नकारात्कम पक्षकोमात्र यति वकालत गर्छाै की त्यसका सकारात्मक पक्ष ओझेलमा पारिदिन्छौं । अहिले तीजको नाममा भएको तडक–भडक त्यसको ज्वलन्त उदाहरण हो । एकातिर हामी ठूल–ठूला तारे होटलमा दर पार्टीको कुरा गर्छाै अर्कातिर तीजको व्रतको विरोध गर्छाैं ।
संस्कार, व्रत र पूजापाठ गर्नु आत्मिक शान्तिको लागि हो र यो स्वस्फूर्त हुनुपर्छ । सिन्दुर लाउन छोड्दैमा न त महिला अधिकारवादी भैईन्छ, न त सिन्दुर लाउँदैमा पतिव्रता । कुरा हो श्रीमान–श्रीमती वीचको विश्वास र आत्मियताको । अहिले कतिपय स्वघोषित महिला अधिकारवादीले पुरुषलाई श्रिमतीको दीर्घायु चाहिंदैन् ? उनीहरुले व्रत लिनु पर्दैन जस्ता प्रश्नहरु उब्जाएका छन् । एक हिसावले हो पनि, के साच्चै पतिलाई उसकी पत्नीको लामो साथ चाहिंदैन ? यो त पतिलाई मेरा लागि तैले पनि व्रत बस्नुपर्छ भनेर बाध्यपार्ने काम भएन र ? कुनै पनि पतिले ‘मेरो दीर्घायुको लागि तिमी व्रत बस, पानी नखाउ’ भनेर त अवश्य भन्दैन । कुनै पति स्वस्फूर्त रुपमा तीजको व्रत बस्छ भने त्यो गौरवको विषय हो ।
(Awadh Post- Sep 2/2016)
Comments
Post a Comment