सपना र आशा
सपना र आशा
केशवी जोशीअनगिनति सपनाहरुको पोको संगाल्दै
सानो बारीमा सपनाहरुको बीउ छरेको थिए
एक्लै रम्ने बानी बसाएको थिए
त्यो सपनाको बारी ननिदाओस
र, मलजल र पानीको कमिमा नछटपटियोस भनेर
लहरै हुर्कदै थिए ति सपनाका विरुवाहरु
हुर्कदै गरेका तिनिहरुलाई देख्दा
मन औधि रमाउथ्यो ।
सोच्थे यिनिहरु रोप्न
कतै मेरो बारी सानो त हुदैन !
फेरि,
बारी बढाउन पनि त सकिदैन
न त किनेर नै जोड्न मिल्छ,
न सापटि मागेर ।
निरास हुन्थ्ये म,
र, पनि
सबै सपना फूल्छन्, फल्छन् भन्ने आशमा
सबैमा मलजल गर्ने आँट थियो ।
तर,
म अनभिज्ञ थिए
कति सपनाहरु ओइलाएर मर्छन
कोहि बुन्दा–बुन्दै तुहिन्छन
कोहि हुर्किदै चुहिन्छन
कोहि वयष्कमा चोरिन्छन
कोहि फुल्दा–फुल्दै झरछन
कोहि फल पाक्दा–नपाक्दै
अनि कोहि मिठास बिना नै गिरछन्
आज,
सपनाको त्यही बारी ठुलो लाग्छ
सपनाको बीउ छरिरहन्छु
समय, पानी र मलजलको अभाव खट्किरहन्छ
तर, आशाको त्यान्दो जस्ताको त्यस्तै छ
त्यसले सपना जन्माइरहन्छ ।
Comments
Post a Comment